बुढेसकालको माया

 

तिमी भयौ बूढी पीपल म त बूढो बर
जीन्दगीको चौतारीमा एकअर्काको भर ।

छोरा नाति कहाँ कहाँ आफ्ना आफ्नै सुर
दुःख पर्दा आँसु पुछ्ने अरु को नै छ र ?
सकेसम्म रुवाइएन ती सन्तानलाई पहिले
सँगै हाँस्न सुहाएन बुढेसकालमा अहिले ।

तिमी भयौ बूढी पीपल ….

बरको भर पीपललाई पीपलको बरलाई
ज्यान थलिँदा दबाई खुवाउने कोही छैन हामलाई
जीन्दगानी यस्तै रै’छ कहिले धाम त छायाँ
साँच्चै मीठो हुँदो रै’छ बुढेसकालको माया ।

तिमी भयौ बूढी पीपल म त बूढो बर
जीन्दगीको चौतारीमा एकअर्काको भर ।