देश बने पो हामी बन्छौँ

देश बने पो हामी बन्छौँ एक्लै बनेर के अर्थ हुन्छ र !
देशै नाङ्गियो भने हामी झाँङ्गिएर के अर्थ हुन्छ र !

संसारमा उही मानव महँगो छ उही मानव सस्तो
देशकै कारण मानवबीच फरक देख्ने हेराइ कस्तो ?
खासै फरक हुन्न रहेछ आफ्नै देशमा बस्दा खेरी
साँच्चै यो मन दुख्दो रहेछ परदेशमा हेपिँदा खेरी ।

देश बने पो हामी बन्छौँ एक्लै बनेर के अर्थ …

गर्वसाथ भन्न सक्छौँ भूगोलभरि सुन्दर मुलुक हाम्रो
बहुजाति भाषा, धर्म, संस्कृतिलाई जोगाई राख्नु राम्रो
यही देशमा जन्मेपछि देशका लागि केही त गरौँ
भोलिका ती सन्ततिलाई जिम्मा दिई स्वदेशमै मरौँ ।

देश बने पो हामी बन्छौँ एक्लै बनेर के अर्थ हुन्छ र !
देशै नाङ्गियो भने हामी झाँङ्गिएर के अर्थ हुन्छ र !